रवीन्द्र मिश्र नेपालको दूरगामी राष्ट्रिय हित र दशकौंदेखि राजनीतिले स्पर्श नै गर्न नसकेको वर्गको रुपान्तरण गर्ने उद्देश्यसहित कल्याणकारी (सामाजिक) लोकतन्त्रको दर्शन बोकेर ०७४ सालमा राजनीतिमा होमिएका हुन् । नेपाल, पाकिस्तान र बेलायतमा बिबिसी विश्व सेवाका विभिन्न फाँटमा रहेर पत्रकारिता गरेका उनी ०६३ देखि ०७३ सालसम्म बिबिसी नेपाली सेवाका प्रमुख थिए । “नेपालका लागि नेपालीले गरौं” नाराका साथ विश्वका विभिन्न देशमा फैलिएको परोपकारी सञ्जाल 'हेल्प नेपाल नेटवर्क'का संस्थापक अध्यक्षसमेत रहेका मिश्रले अङ्ग्रेजी साहित्य (नेपाल), पत्रकारिता (पाकिस्तान) र अन्तर्राष्ट्रिय राजनीति (बेलायत)मा स्नातकोत्तर गरेका छन् । यसअघि मिश्रका 'भूमध्यरेखा', 'खान पुगोस् दिन पुगोस्', 'रवीन्द्र मिश्रका कविता', 'राजनीतिसँगै राजकाज' र 'विचारभन्दा माथि देश' प्रकाशित छन् ।