Showing 51–60 of 60 results
समर लभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञास बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल ।
समर लभमा मुकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरू ।
मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैंलाई पाउनेछन् ।
‘कथाकी पात्र’ कथासङ्ग्रह (२०६७) बाट नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका युवा आख्यानकार सुबिन भट्टराईको दोस्रो कृति ‘समर लभ’ (२०६९) पहिलो उपन्यास हो । ‘समर लभ’ को सिक्वेल ‘साया’ हो ।
अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली ‘पर्फमेन्स पोयट्री’बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कवि हुन् । सामाजिक सञ्जालमा संसारभरिबाट उनका कविता लाखौं पटक हेरिएका छन् ।
प्रत्येक नेपालीले भनिरहेको छ— जीवन सहज बनोस् । खान–लाउन र स्वास्थ्य–शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै/गर्नै नपाई जीवन टुङ्गिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक पर्छ । र, यस्तो समृद्धि देशका सबै वर्ग र क्षेत्रका नागरिकबीच समानुपातिक रूपमा वितरण हुनुपर्छ ।
त्यो कसरी सम्भव हुन्छ ? यसबारे अनेक कोणबाट बहस भइरहेका छन् । तर विकासको अगुवाइ गर्नुपर्ने राजनीतिक दल र नेताहरुको चासो देश र नागरिकलाई समृद्धितर्फ कसरी उन्मुख गर्न सकिन्छ भन्नेमा भन्दा तत्कालीन लाभ–हानिका विषयमा हुने गरेको छ । यस्तो प्रवृत्तिमा सिर्जनात्मक हस्तक्षेप गर्ने प्रयास गरेका छन् संसदको विकास समितिका सभापति तथा युवा नेता रविन्द्र अधिकारीले ।
अहिलेको पुस्ताका सपनाहरु साकार पार्ने गरी नेपालको समग्र विकास कसरी गर्न सकिन्छ, यसका मुख्य अवरोध के हुन् तथा उपचार के हो भन्नेबारे उनका विचारले समृद्ध नेपालको सपना देख्नेहरुमा आशा सञ्चार गर्नेछ । यस पुस्तकले नेपालको विकास चिन्तनमा दरिलो उपस्थिति जनाउनेछ ।
कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मेका रविन्द्र अधिकारी २०६४ र २०७० सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट अगाडि आएका उनी २०४९ मा पृथ्वीनारायण क्याम्पस, पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनको संविधानसभा: लोकतन्त्र र पुनर्संरचना पुस्तक प्रकाशित छ । उनका राजनीति एवं विकाससम्बन्धी लेख विभिन्न पत्रपत्रिकामा छापिँदै आएका छन् । हाल उनी व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका सभापति छन् ।
गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति ।
पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।
रविन्द्र भट्टराई सेयर बजार विश्लेषणका ‘पर्याय’ नै मानिन्छन् । अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका कारण उनी आफैंले मात्र अरुले पत्याउनै नसक्ने उपलब्धि हासिल गरेका छैनन्, थुप्रैलाई समृद्धि हासिल गर्ने मन्त्र पनि बाँडेका छन् । पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने उनी तालिमकै लागि देशका धेरै जिल्ला पुगेका छन् । भट्टराईका सेयरबारे दस पुस्तक प्रकाशित छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्ष लगानी व्यवस्थापन विषय अध्यापन गराएका थिए ।
शसक्त आख्यानकार र निबन्धकार नारायण ढकालका विभिन्न दैनिक, साप्ताहिक र मासिक पत्रिकामा छापिएको विचारात्मक निवन्धहरूको सँगालो हो । यिनले नेपाली साहित्यको समकालिन अनुहार पहिल्याउन सहयोग पुर्याउँछन् ।
नारायण ढकाल कवि, निबन्धकार, उपन्यासकार, कथाकार तथा पत्रकार हुन् । उनका १२वटा किताबहरु प्रकाशित छन्, र उनको उपन्यास ‘प्रेतकल्प’ले २०६५ सालको साझा पुरस्कार पाएको थियो ।
सोह्र साँझहरु युद्धक्षेत्रको अध्ययन–भ्रमणमा आधारित यात्रासंस्मरण हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनको पीडालाई यस पुस्तकले आफ्नो विषयक्षेत्रभित्र पारेको छ । त्यस्तो गम्भीर विषयलाई सरल, सरस र कलात्मक ढाँचामा प्रस्तुत गर्नु पुस्तकको विशेषता हो । प्रवाहपूर्ण भाषामा लेखिएको यस पुस्तकले एउटा सुन्दर औपन्यासिक कृतिले जस्तै पाठकलाई निरन्तर तानिरहन्छ । पढ्न थालेपछि पढिसक्ने हुटहुटी निर्माण गर्नु पुस्तकको शैलीगत सफलता हो । अन्तरवस्तुको दृष्टिले चाहिँ सामाजिक इतिहासको एउटा अभिलेख तयार गर्नुमा पुस्तकको मूल्यवत्ता निहित छ । पुस्तकमा त्यस्तो मूल्यवत्ता युद्धका विकराल क्षति अवलोकनबाट निर्मित भएको छ । अझ प्रस्तुत कृतिको मूल्यवत्ता नेपाली समाजले खोजिरहेको न्यायपूर्ण परिवर्तन र त्यसपछि स्थापित हुनुपर्ने कार्यसूचीको संकेततर्फ सिधै गाँसिएको छ । पुस्तकहरू जलाएको प्रतिक्रियामा लेखकले व्यक्त गरेका तिखा टिप्पणीले सांस्कृतिक परिष्कारको त्यही फाँटतर्फ संकेत गर्छन् । – नारायण ढकाल