कुनै पनि आवरणका द्वन्द्व, युद्ध, क्रान्ति वा सशस्त्र आन्दोलन — सबैले राजनीतिक परिवर्तन नल्याउन सक्छन् । तर हरेक द्वन्द्वले घरहरू भत्काउँछ । कोही एक्लो हुन्छ, कसैले बा गुमाउँछ, कसैले आमा, कसैले छोरा त कसैले छोरी । जे होस्, कसैले अभीष्ट पूरा
गर्दागर्दै अर्को कसैले ‘घर’ हराउँछ । यसरी घर हराएका मानिसको नयाँ ‘घर’ कोपिला आश्रम र त्यसका सञ्चालक हरिरामजीको सफलताको कथा हो यो । कोपिला आश्रम अरु केही नभएर टुहुरा बालबालिकालाई आश्रय दिने नाममा पश्चिमा मुलुकतिर पठाउने संस्था हो । कथाको केन्द्रमा छन् हरेरामजी, जो थोरबहुत शिक्षित र खराब पृष्ठभूमिका छन् । कोपिला आश्रममा ल्याइएर विदेश पठाइएका हरेक बालबालिकाको उनी अभिलेख राख्छन्, जसबाट हामी ति बालबालिका कसरी टुहुरा भए भन्ने पूर्वकथा थाहा पाउन सक्छौं ।
गङ्गालाल ह्दय केन्द्रसँग आबद्ध रामेश कोइराला मुटु विशेषज्ञ हुन् । उनको संस्मरण ‘आमाको मुटु’ यसअघि प्रकाशित भइसकेको छ ।
गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई ‘भर्जिन ल्यान्ड’ बनाउने आधार हो— सेयरबाट करोडपति ।
पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो— सेयरबाट करोडपति ।
रविन्द्र भट्टराई सेयर बजार विश्लेषणका ‘पर्याय’ नै मानिन्छन् । अध्ययन, अनुसन्धान र विश्लेषण क्षमताका कारण उनी आफैंले मात्र अरुले पत्याउनै नसक्ने उपलब्धि हासिल गरेका छैनन्, थुप्रैलाई समृद्धि हासिल गर्ने मन्त्र पनि बाँडेका छन् । पुँजी बजारलाई बलियो बनाउन सचेत लगानीकर्ताको उपस्थिति अपरिहार्य देख्ने उनी तालिमकै लागि देशका धेरै जिल्ला पुगेका छन् । भट्टराईका सेयरबारे दस पुस्तक प्रकाशित छन् । व्यवस्थापन सङ्कायको वित्त तथा लगानी विषयका स्नातकोत्तर भट्टराईले त्रिभुवन विश्वविद्यालय, शङ्करदेव क्याम्पसमा १३ वर्ष लगानी व्यवस्थापन विषय अध्यापन गराएका थिए ।
असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डो¥याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।
अमेरिकाको केलग स्कुुलबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका जोन उडले सन् १९९१ मा माइक्रोसफ्टमा आबद्ध हुनुअघि केही वर्ष ब्यांकमा काम गरेका थिए । कडा परिश्रम र दृढ संकल्पका कारण उनी अति छिटो अगाडि बढे र समुद्रपार अस्ट्रेलिया र चीनमा राम्रो कामको जिम्मा पाए । विशाल चीन क्षेत्रका लागि माइक्रोसफ्टको व्यापार विकास निर्देशकका रूपमा काम गर्दैगर्दा उडले आफ्नो जीवनको उद्देश्य बदले र बालबालिकालाई गरिबीको चक्रबाट बाहिर ल्याउन उनीहरूलाई आजीवन शिक्षाको उपहार दिने निर्णय गरे । सन् २००० देखि उनले नेपाल, भारत, श्रीलंका, कम्बोडिया, लाओस, भियतनाम र अफ्रिकामा साक्षरता वृद्धि गर्ने उद्देश्यले रूम टु रिड नामक नाफा नकमाउने संस्था स्थापना गरे ।
‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ आफ्नो व्यवस्थापन निपुणता र उद्यमशील उत्साहको अर्थपूर्ण निकासको खोज गर्ने जोन उडकोे संघर्षको वृत्तान्त हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीबाट सिकेको पाठलाई आधारभूत शिक्षाको समस्या हटाउन प्रयोग गर्न सकिन्छ भनेर उड सजीव, भावनात्मक र मग्न तुल्याउने कथा बुन्छन् माइक्रोसफ्टदेखि बाहुनडाँडासम्ममा । जीवनमा ठूलो सफलता प्राप्त गरेका मानिस जो आफूले पाएको केही चीज अरूलाई दिँदा जीवन कस्तो हुँदो हो भनी घोत्लिन्छन्, तिनका लागि यो कथा साँच्चीकै प्रेरणा–गाथा हुन सक्छ ।
जोन उड अन्तर्राष्ट्रिय संस्था ‘रिड’का प्रमुख कार्यकारी निर्देशक हुन् । ‘रिड’ खोल्नुअघि उनी माइक्रोसफ्ट कम्पनीमा कार्यरत थिए ।
सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् । नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो । तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा–अधुरा । आआफ्नो भाग्यको कुरा ।
लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरु सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरुले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरूद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।