Showing 21–30 of 60 results
नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । ‘छापामारको छोरो’को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् ।
महेश विक्रम शाह कथाकार तथा प्रहरी अधिकृत हुन् । उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् ।
जीवनको एउटा महत्वपूर्ण घडीले महान् कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो ।
अभिनय गरेर अरुलाई पेट मिचीमिची हँसाउन र धरधरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् ? यसको बेलीबिस्तार पुस्तकमा छ ।
‘चिना हराएको मान्छे’ नेपालका एक महान् कलाकारले नेपालीलाई आफ्नै छोराले दिएको थप उपहार हो । यो पुस्तक पढिसकेपछि नेपाली बाआमालाई आफ्नै छोराको जीवन पढे जस्तो लाग्नेछ, नेपाली दाईदिदीहरुलाई आफ्नै भाइको र नेपाली भाइबहिनीहरुलाई आफ्नै दाइको जीवन पढे जस्तो लाग्नेछ ।’
–अमर न्यौपाने
हरिवंश आचार्य बहुचर्चित हास्य कलाकार तथा निर्देशक हुन् । उनले मदनकृष्ण श्रेष्ठसँगको तीन दशक लामो सहकार्यमा दर्जनौं टेलीश्रृङखला तथा प्रहसनहरुमा अभिनय तथा निर्देशन गरेका छन् ।
हिमाल आरोहणको इतिवृत्तभन्दा अमिल्दो नलाग्ने ‘चुली’ यथार्थमा मानवीय जिगीषा र जिजीविषाहरूको साहसिक अभियानको राम्रो अभिलेख भइदिएको छ । आरोहण खतराको चुनौती स्विकार्ने साहस, सगरमाथा आरोहीको रोमाञ्चक अनुभव र अद्भुत भोगाइको सजीव आलेख रोचक छ र आकर्षक पनि ।
प्राकृतिक छवि अंकित गर्ने दृष्टिले मात्र होइन, सग।माथाको विकरालता, जोखिम, दुर्घटना, आशंकित मृत्यु आदिको अनुभूति । र दुर्लंघ्य सगरमाथाको भौगोलिकता, आरोहण वृत्तान्त, त्यस सम्बन्धी प्राविधिक ज्ञान, वायुमण्डलीय चाप, आरोहणमा प्रयोग हुने औजार, दुर्गम स्थलका नाम आदिको जानकारीले ‘चुली’ एक गैरपर्वतारोहीको आरोहण लघुउपन्यास हो भनेर सायदै कसैलाई लाग्ला ।
सरुभक्त अब्बल निबन्धकार, कथाकार, कवि, नाटककार तथा उपन्यासकार हुन् । ‘एक अभिनवको आत्मकथा’, ‘समय त्रासदी’, ‘तरुनी खेती’लगायत उनका तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनको उपन्यास ‘पागल बस्ती’ले २०४९ सालको मदन पुरस्कार पाएको थियो ।
प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम !
त्यही प्रेम बारे लेखेका छन् दसजना लेखकले, यो संग्रहमा । बिमल आरोही, शिवानी सिंह थारु, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋिचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुंगिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् ।
अजित बरालको लेखन तथा सम्पादनमा ‘द लेजी कनम्यान’, ‘इन्टरभ्युज अक्रस टाइम एण्ड स्पेस’ र ‘न्यु नेपाल, न्यु भ्वाइसेस’ र ‘फस्ट लभ’ प्रकाशित छन् ।
यो क्रमिक क्रान्तिको राजनीति उजागर गर्ने कथा हो । मूलधार बदल्ने सपना लिएर आएका विद्रोहीलाई बरू मूलधारले नै बदलेर आफ्नो गर्भमा कसरी खिच्यो, त्यसको फेहरिस्त हो यो किताब । यो अर्धसार्वभौम देशका राजनीतिक नायकहरुको कथा हो जो जटिल अन्तर्राष्ट्रिय परिस्थितिबीच क्षेत्रीय शक्तिहरुसँगको रस्साकस्सीमा तल्लीन रहन्छन् । यो ती सीमान्तकृत नागरिकहरुको कथा हो जो नागरिकता र राष्ट्रियताको पुरानो परिभाषालाई चुनौती दिँदै समावेशीता, आत्मसम्मान, र शक्तिका लागि सङ्घर्ष गरिरहेका छन् ।
प्रशान्त झा हिन्दुस्तान टाइम्सका सहायक सम्पादक हुन् । नेपालको राजनीतिक परिवर्तनलाई नजिकबाट नियालेका उनले नेपाली दैनिक पत्रिकाहरुमा स्तम्भ लेखेका छन् । उनले द हिन्दुका लागि नेपाल संवाददाता र हिमाल साउथएसियनका लागि कन्ट्रिब्युटिङ एडिटरका रुपमा काम गरिसकेका छन् । सन् १९८४ मा जन्मेका उनी अहिले दिल्लीमा कार्यरत छन् । यो उनको पहिलो पुस्तक हो ।
पारदर्शी चहकिला ऐनैऐनाको पङ्क्तिजस्ता देखिन्छन् रमेश क्षितिजका कविता ! अथवा जसरी उः त्यो पहाड वा त्यो डाँडाबाट अर्को डाँडा पुग्दा पनि फेरि बाँकी हुन्छ आकाश ! हो त्यसरी नै भाव वा संवेदना विस्तार हुन्छ उनका कवितामा । त्याहाँसम्म पुगें भनेको फेरि आँखाअगि देखिन्छ अर्को बाटो, अर्को शिखर, अर्को आकाश । नवीन, मौलिक र जुठो नपारिएका निजी बिम्बहरुको निर्माण र प्रयोग गर्छन् क्षितिज ।
बिम्बमा प्रस्तुत हुने, काव्यिक वस्तुसँग आफू हस्तान्तरित हुने, काव्यिक चित्रसहित अन्त्यमा विचार प्रक्षेपण गरिने, प्रकृतिलाई मानवीकरण गरेर आफ्नो कथा भन्न लगाउने तथा बिम्ब, प्रतिक, लय, शब्दयोजना, संवेदना र अर्थमा विशेष जोड दिँदै भाषाको लय, सङ्गीतको स्पर्श र संरचनामा रचित रमेश क्षितिजका कविता बुझ्नुपहिले वा अर्थको स्तरमा पुग्नुअगावै संवेद्यसमेत हुन्छन् । यिनै निजत्व र मौलिक परिचयले अर्थपुर्ण छन् उनका कविताहरु । — तुलसी दिवस
रमेश क्षितिज सशक्त कवि तथा प्रशासक हुन् । उनको ‘अर्को साँझ पर्खेर साँझ’ कविता संग्रह प्रकाशित छ ।
हिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने परम्परित साँघुरो सोचलाई यसले नयाँ क्षितिज देखाएको छ । प्रचलित नेपाली भाषाको प्रायोगिकीका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो । यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यव्रmमीय पद्धतिलाई समेत झकझक्याउने काम गरेको छ र त्यसका लागि वैकल्पिक बाटो देखाउन खोजेको छ ।
यसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रव्रिmयाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।
नेपाली भाषाको शुद्धता, स्पष्टता र सरलताका पक्षधर शरच्चन्द्र वस्ती स्वतन्त्र सम्पादक एवं भाषाविदका रुपमा परिचित छन् । साढे तीन दशकदेखि प्राध्यापन, पत्रकारिता र भाषा प्रशिक्षणमा संलग्न उनले विभिन्न पत्रपत्रिका तथा टेलिभिजन च्यानलको सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् । दुई दर्जन बाल पुस्तक र चित्रकथा, अखबारी स्तम्भ लेखन र रेडियो÷टीभी श्रृंखलामा उनको कलम प्रवाहित भएको छ । थुप्रै पुस्तकका सम्पादक वस्ती अनुवाद र व्यंग्य लेखनमा समेत रूचि राख्छन् ।